काठमाडौँ ।
मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज (आइतबार) निर्वाचन हुँदैछ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख चयनका लागि मतदान हुने कार्यतालिका रहेको छ ।
सभामुख पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव उम्मेदवार बनेका छन् । उनको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्रकुमार सिंह र समर्थकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का फकिरा महतो रहेका छन् ।
त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा शारदा देवी थापा र समर्थकमा जयचन्द्रप्रसाद पटेल छन् ।
प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत रहेकाले जसपाका उम्मेदवार यादवको जित सुनिश्चित जस्तै देखिएको छ ।