काठमाडौँ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड जोन ट्रम्पले बेलायती प्रसारक बीबीसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् । सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफूले दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरेको र आफ्नो मानहानि गरेको आरोप लगाउँदै उनले फ्लोरिडाको संघीय अदालतमा मुद्दा हालेका हुन् ।
बीबीसीको 'प्यानोरामा' नामक कार्यक्रममा प्रसारण भएको एक वृत्तचित्रमा आफ्नो भाषणका दुई फरक अंशलाई जोडेर आफूले समर्थकहरूलाई क्यापिटलमा आक्रमण गर्न उक्साएको जस्तो देखाइएको ट्रम्पको आरोप छ । उनले बीबीसीले 'आफ्नो मुखमा शब्दहरू राखिदिएको' र यसका लागि 'एआई' जस्ता प्रविधिको प्रयोग भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
ट्रम्पको कानुनी टोलीले बीबीसीले सन् २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने उद्देश्यले जानाजानी र दुर्भावनापूर्ण रूपमा भिडियो हेरफेर गरेको आरोप लगाएको छ ।
यद्यपि, बीबीसीले मानहानिको दाबीलाई अस्वीकार गरेको छ, तर बीबीसीका अध्यक्ष समीर शाहले यस विषयमा ट्रम्पलाई माफीपत्र पठाएको पुष्टि भएको छ । यही भिडियो सम्पादनको विवादका कारण बीबीसीका महानिर्देशक र एक शीर्ष समाचार कार्यकारीले यसअघि नै राजीनामा दिइसकेका छन् ।