काठमाडौँ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज (शनिबार) साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ३:३0 बजे सुरु हुने फाइनल खेलमा दुवै टोली पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । सुदूरपश्चिमको कप्तानी राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीले र लुम्बिनीको कप्तानी राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गरिरहेका छन्, जसले खेललाई थप रोमाञ्चक बनाएको छ ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पराजित गरेको थियो । गत वर्ष फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्न आतुर छ भने गत संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनी यसपटक उपाधि उचाल्ने दाउमा छ ।
एनपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउनेछन्, जसको दौडमा दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र रोहित पौडेललाई मुख्य दाबेदार मानिएको छ ।