काठमाडौँ ।
नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणको उपाधिका लागि आज (शुक्रबार) साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।
दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । गत वर्ष फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने दाउमा छ ।
उता, रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । लिग चरणको भेटमा भने सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो ।
एनपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।