काठमाडौँ।
सर्वोच्च अदालतको आदेशबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली भएका हितेन्द्र देव शाक्यले आज पदबहाली गरेका छन् ।
प्राधिकरणको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उनले देशको महत्वपूर्ण दुहबी सबस्टेसनका लागि आवश्यक 'स्पेयर पार्ट्स' (जगेडा पुर्जा) खरिद गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । यो काम अत्यन्त जरुरी रहेकाले पहिलो प्राथमिकतामा राखेर निर्णय गरेको उनले बताए ।
पदबहालीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले आफूले भोगेको कानुनी झमेला प्राधिकरणको कार्यकारी निर्देशक पदमा रहेकै कारण सिर्जना भएको बताए । "करिब अढाई महिनाको दुःखद् समयपछि अदालतबाट न्याय पाएर फर्किएको छु," उनले भने ।
शाक्यले अबको कार्यकालमा पहिलेभन्दा बढी जोस र इमानदारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल सरकारको नीति निर्देशन र प्राधिकरणको हितलाई सर्वोपरि राखेर अघि बढ्ने बताए ।