काठमाडौँ
नयाँ सार्वजनिक गरिएको बडीक्याम फुटेजमा पेन्सिलभेनियाको एक म्याक्डोनाल्ड्समा प्रहरीले लुइजी म्याङ्गियोनलाई सामना गरेको क्षण देखिन्छ । उनलाई न्यूयोर्क सिटीमा युनाइटेड हेल्थकेयरका सीईओ ब्रायन थम्पसनको हत्या गरेको आरोपीका रूपमा खोजिँदै थियो । म्याङ्गियोनलाई पक्राउ गर्ने प्रक्रिया र सो क्रममा संकलित प्रमाण अस्वीकार गरिनु पर्ने भन्दै उनका वकिलहरूले अदालतमा चुनौती दिएका छन् ।
फुटेजमा प्रहरी अधिकृतहरूले म्याङ्गियोनलाई पहिचान माग्दै ‘मार्क’ भनेर झूटो नाम दिएको दृश्य देखिन्छ । प्रहरीलाई कसैले उनलाई ‘सन्दिग्ध’ देखिएको भन्दै बोलाएको थियो । उनीसँगै भएको पहिचानपत्र एक अधिकृतले रेडियोमार्फत जाँचका लागि पठाएको पनि भिडियोमा देखिन्छ ।
न्यूयोर्क सुप्रीम क्रिमिनल कोर्टमा साक्ष्य दमन सम्बन्धी सुनुवाइमा प्रहरी अधिकारीहरूको बयान सुन्दै जाने क्रममा म्याङ्गियोनलाई मिरान्डा अधिकार ठीकसँग पढाइयो कि नपढाइयो भन्ने प्रश्नमा विशेष ध्यान केन्द्रित गरिएको छ । उनका वकिलहरूले बिना वारन्ट गरिएको झोला तलासी र पक्राउ प्रक्रियालाई असंवैधानिक भएको दाबी गर्दै प्रमाण खारेजको माग गरेका छन् ।
यदि अदालतले म्याङ्गियोनका वकिलको तर्क स्वीकार्दै केही प्रमाणलाई अवैध ठहर गर्यो भने अभियोजन पक्षको केस कमजोर हुन सक्छ । अदालतमा उनका नोटबुक र लेखोट लगायतका अन्य प्रमाणहरू पनि प्रस्तुत गरिएको छ । अन्ततः यी सुनुवाइहरूले भविष्यमा हुने सम्भावित मुद्दाको गहिरो दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।