काठमाडौँ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले ऊर्जामन्त्री कुलमान घिसिङमाथि आफ्नो राजनीतिक कार्यक्रमलाई प्रभावित पार्न जानाजान बिजुली काटिदिएको गम्भीर आरोप लगाएका छन्। बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आरोप लगाएका हुन्।
आफ्नो 'श्रम संस्कृति पार्टी' को संगठन विस्तारका क्रममा विभिन्न जिल्लाको दौडधुपमा रहेका साम्पाङले आफू जहाँ पुग्यो, त्यहीँ लाइन काटिएको गुनासो गरेका छन्। उनले यसलाई नियोजित भन्दै ऊर्जामन्त्री घिसिङलाई दोष दिएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, "कुलमान घिसिङ जी ! भोजपुर गएँ लाइन काटिदिनु भो, तालेजुङ गएँ लाइन काटिदिनु भो, संखुवा सभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भो, अब हेटौँडा जाँदैछु त्यहाँ नि काटिदिनु है ! mcc लाई खुसी बनाउनु ! प्रभु शक्तिलाई खुसी पार्नु ल !"
साम्पाङको यो आरोपले उनी र ऊर्जामन्त्री घिसिङबीचको सम्भावित तनावलाई सतहमा ल्याएको छ। यद्यपि, ऊर्जामन्त्री घिसिङ वा नेपाल विद्युत प्राधिकरणले यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन।