काठमाडौँ
स्यान फ्रान्सिस्कोले अल्ट्रा–प्रोसेस्ड खाद्य पदार्थ उत्पादन गर्ने दस ठूला कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। नगरपालिकाका अधिकारीहरूले ती कम्पनीहरूले जानाजानी अशुद्ध र स्वास्थ्यमा हानिकारक खाद्य वस्तुहरू बिक्री गरेको आरोप लगाएका छन्। उनीहरूले कम्पनीहरूको रणनीति तम्बाकू उद्योगसँग समान रहेको बताए र यसले सार्वजनिक स्वास्थ्य खर्च बढाएको दाबी गरेका छन्।
मुद्दामा क्राफ्ट हिन्ज, मोन्डेलेज र कोका–कोला लगायतका कम्पनीहरूलाई दोषी ठहर गर्दै, उनीहरूले नागरिकलाई लत लाग्ने, अस्वास्थ्यकर उत्पादनहरू बेचेर क्यालिफोर्नियाको कानून उल्लङ्घन गरेको उल्लेख गरिएको छ। यी उत्पादनमा कुकिज, मिष्ठान्न, सिरियल, ग्रानोला बार लगायतका सामग्रीहरू पर्छन्।
स्यान फ्रान्सिस्कोका सिटी एटर्नी डेविड चियुले भने, "यी कम्पनीहरूले सार्वजनिक स्वास्थ्य संकट सिर्जना गरेका छन्, ठूलो नाफा कमाएका छन् र अब उनीहरूले आफ्ना कार्यको जिम्मेवारी लिनु पर्छ।" उनीहरूले आर्थिक दण्ड र राज्यव्यापी आदेशको माग गरेका छन् जसले कम्पनीहरूलाई भ्रामक मार्केटिङ रणनीति परिवर्तन गर्न बाध्य पार्नेछ।
उक्त मुद्दा अल्ट्रा–प्रोसेस्ड खाद्य वस्तुहरूको स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव र मोटोपन, मधुमेह, हृदय रोग, क्यान्सर र अन्य दीर्घकालीन रोगसँगको सम्बन्धलाई आधार बनाएर दायर गरिएको छ। यो सन् २०२५ मा सरकारी निकायले दायर गरेको पहिलो मुद्दा हो, जसले खाद्य कम्पनीहरूको जानाजानी मार्केटिङ गतिविधि बिरुद्ध कदम चाल्ने संकेत दिएको छ।