काठमाडौँ।
उपराष्ट्रपति राम सहाय प्रसाद यादव संयुक्त अरब इमिरेट्स(युएई) को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ आयोजित एक विशेष समारोहमा सहभागी भएका छन् ।
नेपालका लागि युएईका राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुखलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
समारोहलाई सम्बोधन गर्दै राजदूत अल शाम्सीले नेपाल र युएईबीचको सम्बन्ध आपसी सम्मान र साझा हितमा आधारित रहेको बताए । उनले जलवायु परिवर्तन, विश्व शान्ति र आतंकवादविरुद्धको लडाइँमा दुवै देश एकै ठाउँमा उभिएको उल्लेख गरे ।
राजदूत शाम्सीले २०७२ को भूकम्प, कोभिड–१९ महामारी जस्ता विपत्तिका बेला युएईले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै नवीकरणीय ऊर्जा, पर्यटन र पूर्वाधार विकासमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए । उनले युएईमा कार्यरत नेपालीहरूले दुवै देशको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसासमेत गरे ।