काठमाडौँ।
कानुन बनाउने र जनताको आवाज उठाउने प्रमुख थलो प्रदेश सभामा लुम्बिनी प्रदेशका एक मन्त्रीसहित तीन जना सदस्यले विगत तीन वर्षमा एक पटक पनि बोलेका छैनन् । नेपाली काँग्रेसबाट निर्वाचित तीनै जना सांसद सदनमा 'मौन' बसेको तथ्य सार्वजनिक भएको हो ।
तीन वर्षसम्म सदनमा नबोल्नेहरूमा रुपन्देहीका अब्दुल रज्जाक गद्दी, पश्चिम नवलपरासीका देवकरणप्रसाद कलवार र गुल्मीका धनेन्द्र कार्की रहेका छन् । आश्चर्यजनक रूपमा, कार्की हाल लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री हुन्, तर उनले मन्त्रीको हैसियतमा समेत सदनमा एक शब्द बोलेका छैनन् ।
यो अवधिमा वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले पनि जम्मा एक पटक मात्र सदनमा बोलेको रेकर्ड छ ।
प्रदेश सभाको रेकर्डअनुसार, सबैभन्दा सक्रिय सांसदका रूपमा एमालेकी तारा थापा देखिएकी छन्, जसले तीन वर्षमा ३३ पटक आफ्नो धारणा राखेकी छन् ।
सदनमा नबोल्ने सांसदहरूले भने स्वास्थ्य अवस्था र समय अभाव जस्ता कारण देखाएका छन् । मन्त्री कार्कीले बोल्न समय नमिले पनि योजनामार्फत जनताको आवाज समेटेको दाबी गरेका छन् । सुशासन विज्ञहरूले भने जनताको आवाज उठाउन निर्वाचित जनप्रतिनिधि सदनमा बोल्नु अनिवार्य रहेको बताएका छन् ।