काठमाडौँ
सिड्नी स्वीनीले आफ्नो नयाँ फिल्म क्रिस्टि को प्रसङ्गमा महिलाहरूले जीवनमा "सबै कुरा मिलाएर राख्नुपर्ने" दबाबका कारण सहयोग माग्न कठिन हुने बताइन्। उनले आफ्नो व्यक्तिगत अनुभव पनि साझा गर्दै सहयोग माग्नु कमजोरी ठानिने सामाजिक दृष्टिकोणले महिलाहरूमा अतिरिक्त बोझ सिर्जना गर्ने उल्लेख गरिन्। पुरुषहरूले सोही काम गर्दा कमजोरी नठानिने तर महिलाले सहयोग लिन खोज्दा "भूमिकाको लागि तयार छैन" भन्ने आरोप लाग्ने परिस्थिति उनले आलोचना गरिन्।
फिल्मका निर्देशक डेभिड मिचोडले पनि उद्योगमा महिलाहरूले केही नजाने कुरा स्वीकार गर्दा उनीहरूलाई "अयोग्य" ठानिने प्रवृत्ति रहेको बताए। उनले आफ्नी पत्नी तथा सह-लेखिका मिर्रा फाउल्क्सले पनि यस्तो अनुभव धेरैपटक भोगेको साझा गरे। आफूले दिनकै धेरैपटक "म यो जान्दिनँ" भन्न सहज हुने तर महिलालाई त्यसो भन्न अप्ठ्यारो पारिने अवस्थालाई उनले अन्यायपूर्ण बताए।
फिल्म क्रिस्टि वास्तविक बक्सर क्रिस्टि मार्टिनको जीवन कथामा आधारित छ। उनका खेलकुदका उपलब्धिहरूसँगै उनलाई सामना गर्नुपरेको घरेलु हिंसा, दाम्पत्य दुव्र्यवहार, तथा समलैंगिक पहिचान लुकाएर बस्नु परेको संघर्ष फिल्मले चित्रण गर्छ। क्रिस्टि 1993 मा डन किङसँग साइन हुने पहिलो महिला बक्सर बनेकी थिइन् र पछि 2009 मा विश्व बक्सिङ च्याम्पियनसिप टाइटल जितिन्। तर 2010 मा उनका पति तथा प्रशिक्षक जिम मार्टिनले उनलाई छुरा र गोली हानेपछि उनको निजी पीडा विश्वसामु खुलेको थियो।
धेरै यातना सहेर ज्यान जोगाएकी क्रिस्टिको कथा निर्देशक मिचोडका अनुसार प्रेरणादायी र अद्भुत छ। फिल्म संयुक्त राज्य अमेरिकामा प्रदर्शन भइसकेको छ, यद्यपि बक्स अफिसमा कमजोर उद्घाटन भएको छ। स्वीनीले भने कला सधैं संख्याका लागि नभई प्रभावका लागि बनाइने बताउँदै फिल्मको उद्देश्य दर्शकमा भावनात्मक प्रभाव पार्नु रहेको बताइन्। क्रिस्टि २८ नोभेम्बरदेखि बेलायत र आयरिस सिनेमामा प्रदर्शन हुँदैछ।