काठमाडौँ
करिब २० अर्ब डलर बराबरको धनीयुक्त यो जहाज १७०८ मा बेलायती नौसेनाले कार्टाजेनाको नजिक डुबाएको थियो। कोलम्बियाले गत वर्षबाट पुनः सुरुवात गरेको उद्धार अभियानअन्तर्गत तोप, तीनवटा सिक्का र पोर्सेलिनका सामग्रीहरू सफलतापूर्वक निकालिएको हो।
सान जोसे समुद्रको करिब ६०० मिटर गहिराइमा रहेको भए पनि यसको ठ्याक्कै स्थान कोलम्बियाको राज्य गोप्य रूपमा राखिएको छ। जलपोतमा रहेको धनको स्वामित्वबारे अमेरिकन लगानीकर्ता समूह सी सर्च आर्माडा, स्पेन र कोलम्बियाबीच वर्षौँदेखि कानुनी विवाद चल्दै आएको छ। सी सर्च आर्माडाले १९८२ मै जहाज फेला पारेको दाबी गर्दै सम्पत्तिको आधा मूल्य बराबर १० अर्ब डलर क्षतिपूर्ति मागेको छ। तर कोलम्बिया सरकारले आफ्नो अभियान खजाना उत्खनन नभई ऐतिहासिक अनुसन्धानका लागि रहेको बताउँदै आएको छ।
उद्धार गरिएका सिक्का (माकुक्विनास) कोलम्बियाको राष्ट्रिय सङ्ग्रहालयमा लगिएको छ भने अन्य वस्तुहरू क्यारिबियन समुद्र अनुसन्धान केन्द्रमा अध्ययन तथा संरक्षणका लागि राखिएका छन्। यी वस्तुहरू वैज्ञानिक विश्लेषणमार्फत जहाज, व्यापार तथा ऐतिहासिक परिवेशबारे नयाँ तथ्यहरू उजागर हुन सक्ने बताइन्छ। राष्ट्रपति गुस्ताभो पेत्रो स्वयं उद्धार गरिएका पोर्सेलिनका बासनाहरू निरिक्षण गर्दै अभियानलाई ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण भनेका छन्।
कोलम्बियाको मानवशास्त्र तथा इतिहास संस्थानले उठाइएका प्रत्येक वस्तुले सान जोसे को कथामा नयाँ आयाम थप्ने बताएको छ। सिक्का, कप, तोप र तिनसँग सम्बद्ध समुद्री तहका नमुनाहरूको प्रत्यक्ष अनुसन्धानले जहाजका यात्रु, व्यापार मार्ग, र दुर्घटनापूर्वको अवस्थाबारे थप गहिरो जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ। यो ऐतिहासिक जलपोत अब केवल खजाना नभई समुद्री इतिहासका अनगिन्ती रहस्यहरू खुलाउने सम्भावनाको महत्वपूण्ण स्रोत बनेको छ।