काठमाडौँ।
विश्व इतिहासमा आजको दिनलाई विभिन्न राजनीतिक उथलपुथल, प्राकृतिक विपत्ति, मानव अधिकारको आन्दोलन र विज्ञानका चमत्कारिक घटनाहरूको साक्षीका रूपमा लिइन्छ ।
आजकै दिन डोमिनिकन रिपब्लिकमा भएको मिराबल दिदीबहिनीको हत्याको सम्झनामा विश्वभर महिला हिंसा विरुद्धको दिवस मनाइन्छ भने सन् २०२४ मा आजकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले ठुलो कानुनी राहत पाएको घटना पनि इतिहासमा दर्ज भएको छ ।
विश्व इतिहासमा आज भएका प्रमुख घटनाहरूको सारसंक्षेप यस प्रकार छ:
-ट्रम्पविरुद्धको आपराधिक आरोप खारेज (सन् २०२४)
आजकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएका आपराधिक आरोपहरू खारेज गरिएको छ । अमेरिकी न्याय विभागका विशेष वकिल ज्याक स्मिथले पदमा बहाल राष्ट्रपतिविरुद्ध मुद्दा चलाउनु संविधान र कार्यकारी अधिकारको उल्लङ्घन हुने भन्दै आरोप खारेजीको अनुमति मागेका थिए, जसलाई अदालतले सदर गरेको छ ।
-महिला हिंसा विरुद्धको दिवसको सुरुवात (सन् १९६०)
क्यारिबियन मुलुक डोमिनिकन रिपब्लिकमा तानाशाही शासन विरुद्ध लड्ने तीन दिदी-बहिनीहरू (प्याट्रिया, मिनर्भा र एन्टोनिया मिराबल) को आजकै दिन तत्कालीन शासक राफेल ट्रुजिलोको निर्देशनमा क्रुर हत्या भएको थियो । उनीहरूको नृशंस हत्याको स्मरण गर्दै संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि २५ नोभेम्बरलाई ‘महिलाविरुद्धको हिंसा उन्मुलन दिवस’ का रूपमा मनाउने घोषणा गरेको थियो ।
-ग्रिसमा सैन्य ‘कु’ (सन् १९७३)
सन् १९७३ मा आजकै दिन ग्रिसमा सेनाले सत्ता कब्जा (कु) गरेको थियो । एथेन्सको पोलिटेक्निकमा भएको विद्यार्थी प्रदर्शन दमन गरिएको एक सातापछि सेनाले राष्ट्रपति जर्ज पापाडोपोलसलाई अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो ।
-२४ वर्ष पुरानो भ्रुणबाट बालिकाको जन्म (सन् २०१७)
चिकित्सा विज्ञानमा आजको दिनलाई एक चमत्कारिक दिन मानिन्छ । सन् २०१७ मा आजकै दिन अमेरिकामा २४ वर्ष पुरानो ‘फ्रोजन’ (जमाएर राखिएको) भ्रुणबाट एम्मा व्रेन नामक स्वस्थ बालिकाको जन्म भएको थियो । यसलाई मानव इतिहासकै सफलतम अभ्यास मानिएको छ ।
-साउदीमा विनाशकारी बाढी (सन् २००९)
सन् २००९ मा हजको समयमा साउदी अरेबियाको जेद्दाहमा आएको विनाशकारी बाढीले ठुलो क्षति पुर्याएको थियो । ४ घण्टा लामो मुसलधारे वर्षापछि आएको बाढीमा परी डेढ सय जनाभन्दा बढीको मृत्यु भएको थियो भने हजारौँ सवारीसाधन बगाएको थियो ।
-अमेरिकामा ‘स्टर्म अफ दी सेन्चुरी’ (सन् १९५०)
सन् १९५० मा आजकै दिन अमेरिकामा ‘एपलाचियन’ नामक शक्तिशाली तुफान आएको थियो, जसलाई ‘स्टर्म अफ दी सेन्चुरी’ भनिन्छ । यस तुफानका कारण एपलाचियन क्षेत्रमा ६० इन्चसम्म हिउँ जमेको थियो भने १५० जनाको ज्यान गएको थियो ।
-भारतमा लैङ्गिक अनुपातमा परिवर्तन (सन् २०२१)
सन् २०२१ मा आजकै दिन सार्वजनिक भएको एक सरकारी तथ्याङ्कले भारतको जनसाङ्ख्यिक इतिहासमा नयाँ मोड आएको देखाएको थियो । तथ्याङ्क अनुसार भारतमा पहिलो पटक पुरुषको तुलनामा महिलाको जनसङ्ख्या बढी देखिएको थियो ।
-विश्वकै लामो नाटक मञ्चन (सन् १९५२)
अगाथा क्रिस्टीको ‘द मुसट्र्याप’ नाटक आजकै दिनदेखि मञ्चन सुरु भएको थियो, जुन विश्व इतिहासमै सर्वाधिक लामो समयसम्म चल्ने नाटक बन्यो । यो नाटक डेनिस ओनिलको मृत्युको घटनामा आधारित थियो ।