काठमाडौँ।
अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जालमा आफूलाई गाली गरिएको एक कमेन्टको स्क्रिनसट सेयर गर्दै समाजको दोहोरो चरित्रप्रति गहिरो निराशा व्यक्त गरेकी छन्। उनले असंवेदनशील मानिसहरूका कारण आफूले एक्लो महसुस गरिरहेको र यस्तो समाजमा बाँच्न निकै कठिन भइसकेको बताएकी छन्।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले समाजको अपेक्षा, दबाब र अन्यायले मानिसलाई आत्महत्याजस्तो अँध्यारो बाटोतर्फ धकेल्ने उल्लेख गरेकी छन्। "श्रीमतीले सहेको धोका, चोट र बेइज्जतीमा कसैलाई चासो हुँदैन, तर महिलाले आफ्नो लागि आवाज उठाउँदा उही समाज ऊमाथि औँला उठाउन थाल्छ," उनले लेखेकी छन्।
उनले समाजको यही दोहोरो मापदण्ड, बेइन्साफी र पक्षपातले मानिसलाई भित्रभित्रै तोड्ने बताउँदै थपेकी छन्, "परिवर्तन सबैलाई चाहिन्छ, तर बदलिन कोही चाहँदैन। यही कारणले मान्छे एक्लो महसुस गर्छ, थाक्छ र कहिलेकाहीँ अँध्यारोतिर तानिन्छ।"
उनको यो भावुक स्टाटसले सामाजिक सञ्जालमा महिलाले भोग्नुपर्ने मानसिक पीडा र सामाजिक दबाबबारे बहस सिर्जना गरेको छ।