काठमाडौँ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११:१५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी आफ्नो दोस्रो जितको खोजीमा हुनेछ भने पहिलो खेलमा पराजित भएको सोमपाल कामीको कप्तानीको कर्णाली पहिलो जित निकाल्ने दाउमा हुनेछ ।
त्यस्तै, आजै दिउँसो ३:३० बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स आमनेसामने हुनेछन् । करण केसीको कप्तानीमा रहेको काठमाडौं आफ्नो तेस्रो खेलमा दोस्रो जित निकाल्न चाहन्छ ।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर भने लगातार दोस्रो जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रनेछ । विराटनगरले आफ्नो पहिलो खेलमा शानदार जित निकालेको थियो ।