काठमाडौँ
फ्रान्सेली ऊर्जा कम्पनी टोटलएनर्जीमाथि सन् २०२१ मा उत्तर मोजाम्बिकको काबो डेलगाडो प्रान्तमा घटेको नरसंहारमा संलग्न भएको आरोप लगाइएको छ। मानवअधिकार समूह ईसीसीएचआरले फ्रान्सेली अभियोजनमा दर्ता गरेको उजुरीमा कम्पनीलाई स्थानीय सुरक्षाबलसँग मिलेर दर्जनौँ नागरिकलाई यातना तथा हत्या गर्न सहयोग पुगेको दाबी गरिएको छ। टोटलएनर्जीले भने यो आरोप अस्वीकार गर्दै सरकारी सुरक्षाबलका गतिविधिमा आफूहरूको कुनै भूमिका नभएको बताउँदै आएको छ।
यो घटना इस्लामिक स्टेट–सम्बद्ध उग्रवादीहरूसँग संघर्ष भइरहेको बेला भएको हो। मार्च २०२१ मा इस्लामवादीहरूद्वारा पाल्मा सहरमा भएको भीषण आक्रमणपछि सयौं नागरिक मारिए वा अपहरण भए। टोटलको अफुंगी प्रायद्वीपस्थित ग्यास प्लान्ट नजिक आश्रय खोज्न आएका स्थानीय मानिसहरूलाई सुरक्षाबलले विद्रोहीसँग सहकार्य गरेको आरोप लगाउँदै अलग्याएर कन्टेनरमा थुनेका थिए। अनुसन्धानकर्ता एलेक्स पेरीले कम्तीमा ९७ जनाको हत्या भएको पहिचान गरेका छन्, तर वास्तविक संख्या दोब्बर हुन सक्ने अनुमान छ।
यस घटनालाई “तेल–ग्यास इतिहासकै सबैभन्दा रगतिलो विपत्ति” का रूपमा वर्णन गरिएको छ। टोटलएनर्जीले घटनाबारे कुनै जिम्मेवारी नस्वीकारेकाले सत्य बाहिर नआएको पत्रकार पेरीको भनाइ छ। यसैबीच, बेलायतले सुरुमा परियोजनामा लगानीकर्तालाई वित्तीय ग्यारेन्टी दिए पनि पाल्मा नरसंहारपछि समर्थन रोकिएको थियो। वातावरणवादी तथा मानवअधिकार समूहहरूले अब बेलायत तथा नेदरल्याण्ड्सले पूर्णरूपमा परियोजनाबाट पछि हट्नुपर्ने माग गर्दै आए।
समर्थकहरूले भने टोटलको ठूलो लगानीले पछाडि परेको क्षेत्र काबो डेलगाडोलाई आर्थिक लाभ मिल्ने तर्क गर्छन्। तर आलोचकहरूको भनाइमा परियोजना वातावरणीय, नैतिक तथा आर्थिक दृष्टिले विनाशकारी छ। उनीहरूले सिरियामा जिहादी समूहलाई भुक्तानी गरेको आरोपमा हाल फ्रान्समा मुद्दा खेपिरहेको अर्को कम्पनी लाफार्जसँग टोटलको व्यवहार मिल्दोजुल्दो रहेको टिप्पणी गरेका छन्।