काठमाडौँ
नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर) आह्वान गरिएको छ। नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अनुभवी र सक्षम सेवा प्रदायकलाई छनोट गर्न टेण्डर आह्वान गरेको हो। बोलपत्र बुझाउने अन्तिम मिति आगामी २ पुस (१७ डिसेम्बर २०२५) तोकिएको छ।
हाल सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सकिने भए तापनि दक्ष जनशक्ति र सुरक्षाका कारण पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीन मार्गको लम्बाइ २.६ किलोमिटर रहेको छ। सरकारले सुरुङ मार्गमार्फत गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) पनि तोकेको छ।
सुरुङमा अत्याधुनिक प्रणाली समावेश भए तापनि सडक विभागको हालको कार्यबोझ र सीमित अनुभवका कारण सञ्चालन र मर्मत चुनौतीपूर्ण रहेको छ। त्यसैले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत मात्र सुरुङ सञ्चालन गर्न सकिने भएकाले सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय प्रतिश्पर्धा आवश्यक ठहरिएको छ। चयन हुने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङ मार्गको संचालन तथा मर्मत गर्नेछ।
यस अवधिमा पर्याप्त विदेशी विज्ञहरुबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने अपेक्षा गरिएको छ। भविष्यमा अन्य सुरुङ तथा फास्ट ट्रयाकजस्ता संरचनाहरु पनि स्वदेशी जनशक्तिबाट सञ्चालन गर्न सहज हुने देखिन्छ। यसले नेपाली प्राविधिक क्षमतामा उल्लेखनीय वृद्धि हुने सम्भावना छ।