काठमाडौँ
भैरहवामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको कार्यक्रममा भाषण गर्दा अचानक हर्ट अरेस्ट भएर मृत्यु भएपछि नेपालमा युवामाझ अचानक मृत्युका घटनाप्रति जनचासो बढेको छ। यी घटनामा कोरोनाकै खोपको प्रभाव रहेको हो कि अन्य कारण रहेको हो भन्ने प्रश्न उठेको छ।
विश्वव्यापी अध्ययनका अनुसार कोभिड संक्रमणले मायोकार्डाइटिस, पेरिकार्डाइटिस, हार्ट फेल्योर र अतालतजस्ता हृदयसम्बन्धी समस्या बढाउन सक्छ। खोप लगाइसकेपछि केही दुर्लभ अवस्थामा, विशेषगरी युवा पुरुषमा, मायोकार्डाइटिस वा पेरिकार्डाइटिस देखिएका छन्, तर ती घटनाहरू प्रायः अस्थायी र अत्यन्तै कम देखिएका छन्।
नेपालमा भएका अध्ययनहरूले खोपपछिका सामान्य असरहरू (जस्तै थकान, टाउको दुख्ने, ज्वरो) मात्रै देखाएका छन्। गम्भीर वा जीवन जोखिम हुने असरको प्रमाण अहिलेसम्म सार्वजनिक भएका छैनन्। यद्यपि, स्थानीय तहमा युवा उमेरमै अचानक ढल्ने वा निद्रामा मृत्यु हुने घटनाहरू वैज्ञानिक अध्ययन र पोस्ट मोर्टम विश्लेषणको आवश्यकता देखिन्छ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा प्रमाणित कोभिड खोपले मानव स्वास्थ्यमा जटिल समस्या निम्त्याएको कुनै रिपोर्ट अहिलेसम्म सार्वजनिक गरेको छैन। तर नेपालमा केही व्यक्तिहरूले खोपपछि स्वास्थ्यमा समस्या देखिएको अनुभव साझा गरेका छन्, जस्तै लामो समय हिंड्न समस्या, शरीर दुख्ने, रगतको मात्रामा कमी, र रत्तचाप अनियन्त्रीत हुने।
स्थानीय समुदायमा यस्ता घटनाहरू बारम्बार देखिएमा स्वास्थ्य अनुसन्धान निकायलाई जानकारी दिनु र दीर्घकालीन अध्ययनको पहल गर्नु आवश्यक छ। व्यक्तिगत रूपमा पनि हृदयसम्बन्धी जोखिम देखिए चिकित्सकसँग तुरुन्त सल्लाह लिनु महत्वपूर्ण छ। यसबाट युवा मृत्युदर र सम्भावित कारणहरूको यथार्थ जानकारी प्राप्त गर्न सकिन्छ।