काठमाडौँ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच नयाँ दिल्लीमा भेटवार्ता सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन दिल्ली पुगेका मन्त्री घिसिङले बुधबार भारतीय समकक्षीसँग द्विपक्षीय ऊर्जा सहकार्यका विषयमा विस्तृत छलफल गरेका हुन्। यो भेटलाई नेपाल–भारतबीच ऊर्जाक्षेत्रमा बढ्दो सहकार्यको निरन्तरता र आपसी सम्बन्ध सुदृढीकरणका रूपमा हेरिएको छ।
भेटवार्तामा नेपाल–भारतबीचको विद्युत व्यापार, प्रसारण लाइन विस्तार र जलविद्युत आयोजनामा लगानी वृद्धि सम्बन्धी मुद्दाहरू प्राथमिक रूपमा छलफल गरिएको बताइएको छ। दुबै पक्षले पारस्परिक लाभका आधारमा विद्युत आदान–प्रदानको दायरा विस्तार गर्ने र दीर्घकालीन ऊर्जा साझेदारीको रूपरेखा तयार पार्ने विषयमा सहमति जनाएका छन्। साथै, दुवै देशका ऊर्जासम्बन्धी निकायबीच नियमित प्राविधिक संवाद र नीति समन्वयलाई सुदृढ पार्ने विषयमा पनि जोड दिइएको छ।
भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाहरूको प्रगति, निर्माणमा देखिएका चुनौतीहरू र समाधानका उपायबारे पनि भेटमा छलफल गरिएको थियो। मन्त्री घिसिङले नेपालमा विदेशी लगानीका लागि अनुकूल वातावरण सृजना हुँदै गएको उल्लेख गर्दै दुवै देशबीचको सहयोगले दक्षिण एसियाली ऊर्जा बजारमा सन्तुलन ल्याउन सक्ने विश्वास व्यक्त गरे। मन्त्री खट्टरले पनि नेपाल–भारत ऊर्जा सहकार्यलाई दीर्घकालीन रणनीतिक साझेदारीको रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए।
भेटवार्तामा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्मा, ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतमलगायत अधिकारीहरूको उपस्थिति थियो। भारतका तर्फबाट विद्युत सचिव पंकज अग्रवाल र विदेश मन्त्रालयका अतिरिक्त सचिव सहभागी थिए। यो उच्चस्तरीय भेटलाई दुवै देशबीच ऊर्जा सुरक्षाको सुदृढीकरण र नवीकरणीय ऊर्जामा सहकार्य विस्तारका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।