काठमाडौँ
बाजुरा जिल्लाको जिल्ला अस्पतालमा महिनौँदेखि जिवनजलको अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन्। असोज महिनाको पहिलो सातामा सकिएको जिवनजल कार्तिक दोस्रो सातासम्म अस्पतालमा आपूर्ति हुन सकेको छैन। झाडापखालाका बिरामीका लागि अत्यावश्यक औषधि मानिने ओआरएस (जिवनजल) नहुँदा विरामीहरूले सास्ती भोग्नु परेको छ।
अस्पतालमा निःशुल्क वितरण हुने जीवनजलको आपूर्ति रोकिएपछि बिरामीहरूलाई मेडिकल स्टोरबाट महङ्गो मूल्यमा जीवनजल किनेर खानुपर्ने बाध्यता आएको छ। बडिमालिका नगरपालिका–७ का स्थानीय मेघराज तिमिल्सेनाले पनि जीवनजल नहुँदा बिरामीहरूले असुविधा भोग्नु परेको बताए। उनीहरूले भने, "जितिसक्दो चाँडो जीवनजल आपूर्ति भए अरू बिरामीलाई पनि सहज हुनेछ।"
अस्पतालका सूचना अधिकारी नृपराज गिरीका अनुसार, नयाँ खरिद प्रक्रियामा ढिलाइ हुँदा जीवनजल समयमै उपलब्ध हुन नसकेको हो। टेन्डर प्रक्रिया सुरु भइसकेको छ र छिट्टै मुल्यांकन समितिले टेन्डर छनोट गरी खरिद प्रक्रिया पूरा गर्नेछ। उनले आश्वस्त पारे कि कार्तिक महिनाभित्रै जीवनजल अस्पतालमा उपलब्ध गराइनेछ।
अस्पतालले औषधि खरिदका लागि पर्याप्त बजेट नहुँदा पनि समस्या भोग्नु परेको छ। यस आर्थिक वर्षमा ९८ प्रकारका निःशुल्क औषधि खरिदका लागि २६ लाख रुपैयाँ विनियोजित भए पनि उक्त रकम अपर्याप्त रहेको छ। जीवनजल नहुँदा झाडापखाला र जलवियोजन सम्बन्धी बिरामीहरूले निजी अस्पताल वा मेडिकल स्टोरबाट महङ्गो मूल्य तिर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ।