काठमाडौँ।
इजरायल प्रतिरक्षा फौज (आईडीएफ) ले रेडक्रसमार्फत गाजा सहरमा हमासबाट सात जना बन्धक फिर्ता लिएको जानकारी दिएको छ। इजरायलसँग भएको युद्धविराम सम्झौताबमोजिम हमासले आज बन्धक रिहा गर्न सुरु गरेको हो, जसअन्तर्गत यो पहिलो खेप हो।
मुक्त गरिएका सात जना बन्धकहरूमा माटन आङ्ग्रेस्ट, उनका भाइहरू गाली र जिभ बर्मन, एलोन ओहेल, इटान मोर, ओम्री मिरान र गाय गिल्बोआ-दलाल रहेका छन्।
रेडक्रसले यी बन्धकहरूलाई गाजाभित्र रहेका आईडीएफ सेनाकहाँ पुर्याएको थियो। त्यसपछि उनीहरूलाई गाजा स्ट्रिपबाट बाहिर रेइम नजिकैको सैन्य सुविधामा लगिनेछ। त्यहाँ उनीहरूको प्रारम्भिक शारीरिक र मानसिक जाँच गरिनेछ र त्यसपछि उनीहरूका परिवारसँग भेट गराइनेछ।
यसअघि हमासले आज रिहा गरिने २० जना जीवित बन्धकको सूची सार्वजनिक गरेको थियो। दुःखको कुरा, उक्त सूचीमा नेपाली नागरिक बिपिन जोशीको नाम समावेश थिएन। इजरायली सेनाले केही समयअघि मात्र विपीन जोशी जीवित नरहेको पुष्टि गरेको थियो।