काठमाडौँ।
असोज १८ र १९ गतेको अविरल वर्षापछिको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा पुनः अस्थायी सडक–डाइभर्सन निर्माण कार्य सुरु गरिएको छ। दुई दिनसम्मको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइतबारदेखि डाइभर्सन बनाउने काम थालिएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर डाइभर्सन निर्माण गरिरहेको छ। सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेले पनि सिन्धुलीको नेपालथोकतर्फबाट दुई वटा एस्काभेटर प्रयोग गरी सोमबारदेखि डाइभर्सन बनाउन सुरु गरेको छ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर बिन्दु अधिकारीका अनुसार, राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाको एक स्थान तथा सिन्धुलीतर्फको अन्य तीन–चार स्थानबाट अस्थायी सडक बनाउन सुरु गरिनेछ। सडकको कुनै अवशेष नरहेकाले पानीको सतहभन्दा उचाइमा डाइभर्सन पुनःनिर्माण गरिनेछ।
सिन्धुलीबाट काभ्रेपलान्चोकतर्फको नमोबुद्धको चौकीडाँडासम्मको विभिन्न स्थानमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। हाल वैकल्पिक मार्गका रूपमा सवारीसाधनहरू खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौँडा हुँदै काठमाडौँ आवतजावत गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, चौकीडाँडा, घुमाउने, माम्तीलगायतका क्षेत्रमा रोशी खोलाले राजमार्ग कटान गरेका कारण पैदल यात्रासमेत गर्नसक्ने अवस्था छैन। रोशी खोला तथा मङ्गलटार खोलाको बाढीले करिब दर्जन स्थानमा लेदो जमेको तथा सडक बगाउँदा पिप्ले र बोक्सेकुनामा हिँड्ने बाटोसमेत छैन।
बाढीले सडक कटान गरेपछि फसेका करिब तीन दर्जन सवारीसाधनलाई प्रहरीले सुरक्षित स्थानमा होल्ड गरेको थियो। जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले क्षतिग्रस्त राजमार्गको स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रिया समेत अघि बढाइरहेको जनाइएको छ।