काठमाडौँ।
विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण रौतहट जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ। जिल्लाका विभिन्न स्थानमा बाढी र डुबानले सयौं घरमा क्षति पुगेको छ भने यातायात सेवा अवरुद्ध भएको छ।
राजपुर गाउँपालिका–२ स्थित महेशपुर गाउँमा करिब ५० घर डुबानमा परेका छन् भने वडाभरि तीन सयभन्दा बढी घरमा क्षति पुगेको वडाध्यक्ष सोनालाल पण्डित कुम्हरले जानकारी दिए। धानबालीमा पनि ठूलो क्षति पुगेको छ।
सदरमुकाम गौरमा ३१५.० मिलिमिटर वर्षा मापन गरिएको छ, जसका कारण सदरमुकाम पनि डुबानमा परेको छ। गरुडा केन्द्रमा पनि ३०४ मिलिमिटर वर्षा भएको र गेडहीगुठी लगायतका गाउँहरू जलमग्न भएको बताइएको छ।
बागमती, लालबकैया, झाझसहितका नदीहरूमा आएको बाढीले आसपासका अधिकांश भूभाग डुबानमा परेका छन्। झाझ नदीको बाढीले गौर गङ्गापिपरा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। दुर्गा भगवती गाउँपालिकाका पाँचवटै वडाका २५ प्रतिशत घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष शम्भु सिंहले बताए।
राजपुर गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा लालबकैया नदीको बाढीले यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए। गुजरा नगरपालिका–८ स्थित लमहा खोलामा पानीको सतह बढ्दा बालचनपुर जङ्गलसैया भित्री सडक बन्द भएको छ भने वडा नं ९ अमतवास्थित प्रतीक टोलका १० घरमा पानी पसेको छ।
बृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगरमा बसोबास गर्दै आएका १२८ परिवारलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।