काठमाडौँ।
मलेसियाले अन्तर्राष्ट्रिय महिला ट्वेन्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको हो।
मलेसियाका लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रनको योगदान दिइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन्।
नेपालको बलिङतर्फ सुमन विष्टले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिइन्। यस्तै, कप्तान रुबिना क्षेत्रीले १ विकेट हात पारिन्।
नेपाली महिला क्रिकेट टोली आगामी जनवरीमा यहाँ आयोजना हुने टी-२० विश्वकपको ग्लोबल छनोट खेल्ने तयारीमा छ। सोही प्रतियोगिताको तयारीस्वरूप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ। यो शृङ्खलाले नेपाली टोलीलाई विश्वकप छनोटका लागि आवश्यक अनुभव र आत्मविश्वास प्रदान गर्ने अपेक्षा गरिएको छ। नेपालले अब केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।