काठमाडौँ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह ले नेपालको राजनीतिक वृत्तमा रहेका 'सिण्डिकेटधारी दल' र तिनका 'नाइके'हरूलाई बलपूर्वक विदाइ नगरेसम्म देशको उन्नति असम्भव रहेको ठोकुवा गरेका छन्। उनले ठूला दलका ठूला नेताहरूको निरन्तरताले देशलाई अग्रगमनको बाटोमा हिँड्न नदिएको आरोप लगाए।
रौतहटको चन्द्रपुर नगरपालिकाको चेतनगर बजारमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले सिंहदरवार, रामशाहपथ र बहादुरभवनजस्ता शक्तिकेन्द्रहरूमा अझै पनि 'तीन दलको छायाँ र विषादी' व्याप्त रहेको बताए। यसले गर्दा देशले चाहेजस्तो प्रगति हासिल गर्न नसकेको उनको भनाइ थियो।
साहले अहिले देश 'विषम परिस्थिति'बाट गुज्रिरहेको उल्लेख गर्दै हरेक देशभक्त नेपाली नागरिकलाई चनाखो हुन आह्वान गरे। उनले देश र जनताको भलाइका लागि वर्तमान राजनीतिक संरचनामा आमूल परिवर्तन आवश्यक रहेकोमा जोड दिए। साहको यो भनाइले स्थापित राजनीतिक दलहरू र तिनका नेतृत्वप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको छ।