काठमाडौँ।
सरकारले नेपाल विद्युत प्राधिकरणबाट हटाएपछि कसरी अघि बढ्ने भन्नेबारे परामर्श गरिरहेको निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताएका छन्।
शाक्यलाई आइतबार मन्त्रिपरिषद्ले प्राधिकरणको प्रमुखबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो। शाक्यले वर्तमान सरकारलाई सहयोग गरेर अघि बढ्ने आफ्नो योजना भए पनि आयोगमा सरुवा गरेको बताए।
उनले भने, "मेरो विशेषज्ञता सरकारले चाहेको हो भने छुट्टै कुरा हो। तर, प्रतिशोध साँधेको हो भने त्यही अनुसार अघि बढ्छु।" कसरी अगाडि बढ्ने तयारी हो भन्नेबारे उनले प्रष्ट पार्न चाहेनन्। "म सरकारलाई सहयोग गर्ने पक्षमा नै थिएँ। तर, काम गर्ने अवसर समेत नदिई हटाइयो। अब दसैँ मनाएपछि कसरी अघि बढ्ने सोचौँला," उनले थपे।
आफू सहयोग गर्ने पक्षमा रहे पनि सरकारले बिनाकारण सरुवा गरिएको उनको भनाइ छ। शाक्यले यस विषयमा आफू थाकेको र अदालत जानेबारे केही नसोचेको बताएका छन्।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनको घरमा पनि आगजनी भएको थियो। आगजनीका कारण परिवार प्रभावित भएको र पत्नी अझै ट्रमामा रहेको उनले बताएका छन्।