काठमाडौँ , भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन' बाट क्षतिग्रस्त बनेकोगोदावरी नगरपालिका, ललितपुर को बाडेगाउँ प्रहरी चौकीको पुनर्निर्माण गरिने भएको छ।
गोदावरी नगरपालिका वडा नम्बर १, २, ३, ४ र १४ का वडा अध्यक्षहरू, प्रहरी चौकी प्रमुखसहित शनिबार बसेको बैठकले तत्काल चौकी पुनर्निर्माणको कामलाई अगाडि बढाउने निर्णय गरेको हो। बैठकमा वडा नम्बर ३ का वडाध्यक्ष राज घिमिरेले दिएको जानकारीअनुसार, प्रहरी चौकी प्रमुखसहित पाँचै वटा वडाका अध्यक्षहरू सम्मिलित एक ६ सदस्यीय मूल समिति गठन गरिएको छ।
"अब चौकी निर्माणका लागि उपभोक्ता समिति पनि तत्काल गठन हुनेछ वडाध्यक्ष घिमिरेले बताए।
प्रारम्भिक चरणमा पुनर्निर्माणका लागि आवश्यक पर्ने रकम जुटाउन पाँचवटै वडाले २/२ लाख रुपैयाँका दरले कुल १० लाख रुपैयाँ संकलन गरेका छन्। ध्वस्त भएको प्रहरी चौकीको पुनर्निर्माणका लागि करिब २८ देखि ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
पुनर्निर्माण कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले मूल आयोजना समितिसँग सम्पर्क गर्न सक्ने वडाध्यक्ष घिमिरेले बताए।