काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम लिएर विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीहरूलाई धम्की दिन सुरु भएको खुलेको छ । रास्वपाले यस्ता गतिविधिमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले पार्टीमा यस्ता गतिविधिबारे जानकारी आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरूलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएको उल्लेख गरे ।
प्रवक्ता झाले यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ:
"जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरूलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।"