काठमाडौँ।
जेनजी प्रदर्शनका क्रममा गत मंगलबार साँझ कञ्चनपुर जिल्ला कारागारबाट भागेका कैदीबन्दीहरू जिल्ला प्रशासन कार्यालयको अनुरोधपछि सम्पर्कमा आउन थालेका छन्। कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीका अनुसार बुधबारदेखि कैदीबन्दीहरू कारागार प्रशासनको सम्पर्कमा फर्किन थालेका हुन्।
जोशीले हालसम्म ११७ जना कैदीबन्दी सम्पर्कमा आइसकेको र यो क्रम जारी रहेको बताए। उनका अनुसार, "अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन्, कतिपय इलाका प्रहरीको सम्पर्कमा आएका छन्।" उनले केही कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेर समेत ल्याएको जानकारी दिए।
यसअघि, बुधबार मात्रै कारागारबाट भागेका आठ जना कैदीबन्दीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतीय सीमानाका गड्डाचौकीमा नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, कञ्चनपुर कारागारमा कुल ४७८ जना कैदीबन्दी थिए। मंगलबार साँझको घटनाका क्रममा ४५५ जना कैदीबन्दी भागेका थिए। तीमध्ये नौ जना कैदीबन्दी बुधबार बिहान आफैँ कारागार फर्किएका थिए। कारागार प्रशासनका अनुसार, घटनाका बेला २३ जना बन्दीहरू कारागारभित्रै रहेकाले उनीहरू भागेका थिएनन्।
जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागुऔषध मुद्दाका बन्दीहरू छन्। यसबाहेक महिला हिंसा, चोरी, ठगी, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग लगायतका विभिन्न मुद्दाका कैदीहरूलाई पनि राखिएको छ। प्रहरीले फरार रहेका अन्य कैदीबन्दीहरूको खोजी कार्य जारी राखेको छ।