काठमाडौँ ।
उपसभामुख इन्दिरा रानामगर संसदलाई कुनै औपचारिक जानकारी नै नदिई अमेरिका भ्रमणमा गएको खुलासा भएको छ। सभामुख देवराज घिमिरेले नै उपसभामुखको भ्रमणबारे संसदलाई जानकारी नभएको पुष्टि गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारूढ दल नेपाली काँग्रेसकी सांसद रमा कोइरालाले उपसभामुख रानाको अमेरिका भ्रमणको औचित्य र प्रकृतिका विषयमा प्रश्न उठाएकी थिइन्। उनले उपसभामुखले संसद्को प्रतिनिधित्व गरेर भ्रमण गरेको हो वा कुनै गैरसरकारी संस्थाको तर्फबाट गएको हो भनी स्पष्ट पार्न माग गरेकी थिइन्।
सांसद कोइरालाको प्रश्नपछि कांग्रेसकै अर्का सांसद रामहरि खतिवडाले पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा यसबारे जिज्ञासा राखेका थिए। जवाफमा सभामुख घिमिरेले उपसभामुख संसदको प्रतिनिधित्व गरेर नगएको र भ्रमणको अन्य विवरणबारे आफूलाई जानकारी नभएको बताएका थिए। उपसभामुख राना साउन ३० गते अमेरिका प्रस्थान गरेको बुझिएको छ।
यसैबीच, बैठकमा उपसभामुखले पद अनुकूलको आचरण नगरेको भन्दै उनीविरुद्ध प्रस्ताव दर्ता गर्न नेपाली कांग्रेस र नेकपा (एमाले)ले हस्ताक्षर संकलन गरेको विषयमा प्रतिपक्षी दलहरूले भने आपत्ति जनाएका छन्।