काठमाडौँ।
विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका (पार्टनर) जर्जिना रोड्रिग्वेजसँग छिट्टै विवाह गर्ने भएका छन्। जर्जिनाले इन्स्टाग्राममा इन्गेजमेन्टको औँठीसहितको तस्बिर सार्वजनिक गरेपछि उनीहरूको विवाहको खबरले इन्टरनेटमा हलचल मच्चाएको छ।
रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेजले इन्स्टाग्राममा एक तस्बिर पोस्ट गरेकी छिन्, जसमा उनी र रोनाल्डो हात समातिरहेको देखिन्छ। तस्बिरमा जर्जिनाको हातमा चम्किलो इन्गेजमेन्टको औँठी स्पष्ट देखिन्छ। उनले क्याप्सनमा लेखेकी छिन्, “हो, मैले निर्णय गरेको छु (Yesss I do)।” उनले तस्बिरको लोकेशन साउदी अरेबियाको राजधानी रियाद उल्लेख गरेकी छिन्। यो पोस्टसँगै फ्यानहरूले उनीहरूलाई बधाई दिन थालेका छन्।
पोर्चुगल फुटबल टिमका कप्तान रोनाल्डो र स्पेनिस मोडल जर्जिना विगत ८ वर्षदेखि सँगै बस्दै आएका छन्। उनीहरूले सन् २०१६ मा डेटिङ सुरु गरेका थिए। हाल पाँच सन्तानका पिता रोनाल्डोका जेठो छोरा रोनाल्डो जुनियरको आमाबारे खुलाइएको छैन। त्यसपछि सन् २०१७ मा सरोगेसीमार्फत जुम्ल्याहा सन्तान इभा मारिया र माटेओको जन्म भएको थियो। सोही वर्ष जर्जिनाले छोरी अलानालाई जन्म दिइन्। सन् २०२२ मा उनीहरूले छोरी बेलालाई स्वागत गरे, तर बेलाका जुम्ल्याहा दाजुको भने जन्मका क्रममा मृत्यु भएको थियो।
इंग्लिस मिडियाका अनुसार, रोनाल्डोको कुल सम्पत्ति १.४५ बिलियन डलरभन्दा बढी छ। उनको आधार तलब करिब २० करोड डलर छ भने विज्ञापनबाट वार्षिक १५ करोड डलर कमाउँछन्। साउदी क्लब अल-नासरसँगको उनको सम्झौता विश्वकै महँगो मध्येको एक मानिन्छ।