काठमाडौँ।
संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा, दुवै सदनको बैठक मंगलबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्नेदेखि पूर्वराज्यमन्त्रीको निधनमा शोक प्रस्ताव पारित गर्नेसम्मका कार्यसूची रहेका छन्।
प्रतिनिधिसभाको बैठक दिउँसो १:०० बजे सुरु हुनेछ। आजको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ।
दुवै सदनको बैठकमा संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरिनेछ।