काठमाडौँ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क २५० प्रतिशतसम्म पुर्याउने चेतावनी दिएका छन्। समाचार संस्था एएफपीका अनुसार, उनले विदेशी अर्धचालक (सेमिकन्डक्टर) मा नयाँ शुल्क लगाउने र भारतबाट आयात हुने वस्तुमा पनि भारी महसुल वृद्धि गर्ने योजना बताएका छन्।
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले पहिलो चरणमा औषधिमा कम दरको शुल्क लगाइने र आगामी डेढ वर्षभित्र त्यसलाई १५० प्रतिशत हुँदै २५० प्रतिशतसम्म पुऱ्याइने बताए।
यसैबीच, राष्ट्रपति ट्रम्पले भारतमाथि पनि आयात शुल्क उल्लेख्य रूपमा बढाउने बताएका छन्। भारतले रुसबाट कच्चा तेल खरिद गरिरहेकोले यस्तो कदम चाल्न लागिएको उनको भनाइ छ। ट्रम्पले यो निर्णय केही घण्टाभित्रै लागू हुन सक्ने सङ्केत समेत दिएका छन्।
ट्रम्प प्रशासनले यसअघि नै विभिन्न व्यापारिक साझेदारहरूमाथि १० प्रतिशतको आधारभूत भन्सार शुल्क लागू गरिसकेको छ। सन् २०२५ को अप्रिलमा लागू भएको उक्त शुल्कका अतिरिक्त प्रशासनले आयातित फलाम र एल्युमिनियममा पनि ५० प्रतिशत भन्सार लगाइसकेको छ।