काठमाडौँ ।
बागमती प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट दोलखाबाट प्रत्यक्ष निर्वाचित सांसद भरत केसी मन्त्री बन्ने पक्का भएको छ। नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको नेतृत्वमा गठन हुन लागेको नयाँ मन्त्रिपरिषद्मा केसीले महत्त्वपूर्ण जिम्मेवारी पाउने भएका हुन्।
दोलखा क्षेत्र नम्बर ‘ख’ बाट प्रत्यक्ष निर्वाचित केसीलाई एमाले बागमती प्रदेश कमिटी र संसदीय दलले मन्त्री बनाउने सहमति गरिसकेको स्रोतको दाबी छ। एक वर्षअघि सरकार गठन हुँदा पनि मन्त्रीका प्रमुख दाबेदार रहेका केसीलाई पार्टीले अर्को चरणमा अवसर दिने वाचा गरेको थियो। स्रोतका अनुसार, उनले पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाउन सक्नेछन्। कांग्रेसले दोलखाबाटै कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाएपछि एमालेमा पनि दोलखाबाट मन्त्री बनाउन दबाब बढेको थियो।
केसी २०७४ सालको स्थानीय तह निर्वाचनमा दोलखाको भीमेश्वर नगरपालिकाका प्रमुख थिए। २०७९ को प्रदेशसभा निर्वाचनमा उनले गठबन्धनका साझा उम्मेदवार, कांग्रेसका बर्मा लामालाई १,८१९ मतान्तरले पराजित गर्दै १९ हजार ४१४ मतसहित विजयी भएका थिए।
यसैबीच, एमालेले मन्त्री छनोटको प्रक्रियालाई अन्तिम रूप दिइरहेको छ। एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले आज दिउँसो १ बजेसम्म मन्त्रीको टुंगो लगाइने जानकारी दिए। उनका अनुसार, बहादुर सिंह लामा नेतृत्वको सरकारमा सहभागी एमाले मन्त्रीमध्ये स्वास्थ्य मन्त्री किरण थापालाई मात्रै दोहोर्याउने तयारी छ। पार्टीले यसपटक प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकता दिने नीति लिएको छ।
मन्त्री बन्ने दौडमा केसीसँगै ललितपुरबाट प्रत्यक्ष निर्वाचित मधुसुदन पौडेल, काठमाडौंबाट प्रत्यक्ष निर्वाचित जयराम थापा र समानुपातिक सांसद बिन्दु श्रेष्ठको नाम पनि चर्चामा छ।
बागमती प्रदेशमा मुख्यमन्त्रीसहित १४ मन्त्रालय छन्। कांग्रेस-एमाले गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ वटा मन्त्रालय पाउनेछन्।