काठमाडौँ ।
साबिक विजेता ब्राजिलले आफ्नो सानदार प्रदर्शन कायमै राख्दै महिला कोपा अमेरिकाको फाइनलमा स्थान सुरक्षित गरेको छ। आज (बुधबार) बिहान इक्वेडरमा भएको दोस्रो सेमिफाइनलमा उरुग्वेलाई ५-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्त पक्का गरेको हो।
इक्वेडरको रोड्रिगो पाज डेल्गाडो स्टेडियममा भएको खेलमा ब्राजिल सुरुदेखि नै हाबी भएको थियो। नवौं संस्करणसम्म आइपुग्दा कीर्तिमानी ८ पटकको च्याम्पियन ब्राजिलले खेलको ११औँ मिनेटमा अमन्दा गुटरेको गोलबाट अग्रता लिएको थियो। त्यसको दुई मिनेटपछि नै जियो गार्बेन्लीले गोल गर्दै अग्रता दोब्बर पारिन्। खेलको २७औँ मिनेटमा चर्चित खेलाडी मार्टाले पेनाल्टीमार्फत गोल गरेपछि ब्राजिल पहिलो हाफमै ३-० को सहज स्थितिमा पुग्यो।
दोस्रो हाफमा ब्राजिलकी इशा हासले ५१औँ मिनेटमा आत्मघाती गोल गरेपछि उरुग्वेले एक गोल उपहार पाएको थियो। तर, खेलमा फर्कने उरुग्वेको प्रयास ५८औँ मिनेटमा अर्को झट्का लाग्यो, जब उसकी खेलाडी यामिला मारियाना रातो कार्ड खाँदै मैदानबाट बाहिरिइन्। दश खेलाडीमा समेटिएको उरुग्वेविरुद्ध ब्राजिलले थप आक्रामक खेल्यो। खेलको ६५औँ मिनेटमा अमन्दाले व्यक्तिगत दोस्रो गोल गरिन् भने ८६औँ मिनेटमा दुधिन्नाले गोल गर्दै ब्राजिलको ५-१ को सानदार जित सुनिश्चित गरिन्।
अब ब्राजिलले उपाधिका लागि आगामी आइतबार बिहान कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ। कोलम्बियाले मंगलबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो।