काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन्। अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहमा राष्ट्र निर्माण र जनसेवामा पुऱ्याएको योगदानको कदर गर्दै उनीहरूलाई यो सम्मान प्रदान गरिएको हो।
‘ग्लोबल नेपाली’ नामक संस्थाले आयोजना गरेको उक्त भव्य समारोहमा नेपाली डायस्पोराका सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो। आयोजकका अनुसार, नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर उनीहरूको योगदानलाई उच्च कदर गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
अवार्ड ग्रहण गरेपछि शाहीले यो सम्मान सम्पूर्ण जुम्ली, कर्णालीवासी तथा देश-विदेशमा रहेर सुशासनको पक्षमा बोल्ने नेपालीहरूप्रति समर्पित गरेको बताए। उनले भने, “यो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण नेपालीहरूको विश्वासको परिणाम हो। यसले समाजमा राम्रो काम गर्ने प्रेरणा दिनेछ।”
त्यसैगरी, कुलमान घिसिङले पनि अवार्डका लागि आयोजकप्रति आभार व्यक्त गरेका छन्। हाल उनी आफ्नो अभियानका क्रममा विदेशमा केन्द्रित छन्।