काठमाडौँ ।
विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्यान्डले लगातार दोस्रो पटक महिला युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ। स्विट्जरल्यान्डमा आइतबार राति सम्पन्न रोमाञ्चक फाइनलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टीमा ३–१ ले हराएको हो।
खेलको निर्धारित तथा अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टीमा इंग्ल्यान्डकी गोलकिपर नायक बनिन्। स्पेनका लागि प्याट्रिसिया गुइराओले मात्र गोल गर्न सकिन्। मारिओना काल्डेन्टी र आइताना बोनमतीको प्रहार इंग्लिस गोलकिपरले उत्कृष्ट बचाउ गरिन् भने साल्मा पारालुएलोको प्रहार बारमा लागेर बाहिरियो।
यता, इंग्ल्यान्डका लागि एलेक्स ग्रिनवुड, निह चार्ल्स र क्लोइ केलीले गोल गरिन्। लिह विलियम्सन र बेथ मिडको प्रहारलाई भने स्पेनी गोलकिपरले विफल बनाएकी थिइन्।
त्यसअघि, खेलको २५औँ मिनेटमा मारिओना काल्डेन्टीले हेडरमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन्। तर, ५७औँ मिनेटमा एलेसिया रुसोले गोल गर्दै साविक विजेता इंग्ल्यान्डलाई खेलमा फर्काइन्। त्यसपछि थप गोल हुन नसक्दा खेल अतिरिक्त समय हुँदै पेनाल्टीमा पुगेको थियो।
फाइनलसम्मको यात्रामा इंग्ल्यान्डले सेमिफाइनलमा इटालीलाई २–१ ले र स्पेनले जर्मनीलाई १–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए।