काठमाडौँ।
रुसको सुदूर-पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। घना जङ्गलमा खसेको विमानमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ। उद्धार टोलीले घटनास्थलमा कोही पनि जीवित नरहेको जनाएको छ।
अङ्गारा एयरलाइन्सको सोभियत-निर्मित एन्टोनोभ-२४ विमान ब्लागोभेश्चेन्स्क शहरबाट टिन्डा शहरका लागि उडेको थियो। स्थानीय समयअनुसार दिउँसो १ बजे राडारसँग सम्पर्कविच्छेद भएपछि विमानको खोजी सुरु गरिएको थियो। पछि उद्धार हेलिकप्टरले टिन्डा विमानस्थलबाट करिब १५ किलोमिटर दक्षिणमा विमानको जलिरहेको भग्नावशेष फेला पारेको थियो।
दुर्घटनाको कारणबारे आधिकारिक रूपमा केही नभनिए पनि एयरलाइन्सका प्रमुखले घटनाको समयमा मौसम खराब रहेको बताएका छन्। दुर्घटनाग्रस्त विमानमा कम्तीमा एक जना चिनियाँ नागरिकसमेत रहेको बताइएको छ।