भारतको बिहार राज्यको राजधानी पटनास्थित एक अस्पतालमा उपचाररत कैदीको गोली हानी हत्या भएपछि सुरक्षामा खटिएका पाँच प्रहरीलाई निलम्बन गरिएको छ। पटनाको पारस अस्पतालभित्र भएको यो घटनालाई सुरक्षामा भएको गम्भीर कमजोरी मान्दै बिहार प्रहरीले शनिबार उनीहरूलाई निलम्बन गरेको हो।
बिहीबार दिनदहाडै, पाँच जनाको हतियारधारी समूह अस्पतालको कोठाभित्रै पसेर कैदी चन्दन मिश्राको गोली हानी हत्या गरेका थिए। सार्वजनिक भएको सीसीटीभी फुटेजमा आक्रमणकारीहरूले मास्क नलगाई सीधै कोठामा प्रवेश गरेको, पेस्तोल निकालेर मिश्रामाथि गोली चलाएको र त्यसपछि कुनै हतार वा डर बिना शान्तपूर्वक अस्पतालबाट बाहिरिएको देखिन्छ।
घटनापछि प्रहरी प्रशासनको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। ड्युटीमा रहेका प्रहरीमाथि कैदीको सुरक्षामा गम्भीर लापरवाही गरेको आरोप लगाइएको छ। यो घटनाले अस्पताल प्रशासन, प्रहरी र राज्य सरकारको संवेदनशीलतामाथि चर्को आलोचना निम्त्याएको छ, जसले राज्यको कानुन व्यवस्थामाथिको विश्वासमाथि नै प्रश्न खडा गरेको छ।