काठमाडौँ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै राजीनामा दिएको जानकारी गराएका हुन्।
एन्फाभित्रको राजनीति र वर्तमान व्यवस्थापनसँग काम गर्न नसक्ने कारण देखाउँदै उनले राजीनामा बुझाएको एक स्रोतले जनाएको छ।
केही साताअघि एन्फाले उज्बेकिस्तानमा भएको घटनाबारे मुख्य प्रशिक्षक प्याट्रिकसँग स्पष्टीकरण मागेको थियो। सोही स्पष्टीकरणको जवाफ दिने क्रममा प्याट्रिकले राजीनामा पत्र पठाएका हुन्।
यो विवादको जड एएफसी एसियन कप छनोट अन्तर्गत उज्वेकिस्तानमा भएको खेल थियो। उक्त खेलमा टोलीको कप्तानीको विषयलाई लिएर मुख्य प्रशिक्षक प्याट्रिक र एन्फाका पदाधिकारीबीच गम्भीर विवाद सिर्जना भएको थियो। विवाद चुलिएपछि एन्फाका पदाधिकारीहरूले पत्रकार सम्मेलन गर्दै सम्पूर्ण दोष प्रशिक्षक प्याट्रिकमाथि लगाएका थिए।
सोही घटना र त्यसपछिको परिस्थितिलाई उल्लेख गर्दै प्याट्रिकले एन्फाको वर्तमान नेतृत्वसँग रहेर काम गर्न सहज नभएको निष्कर्षसहित राजीनामा दिएका हुन्।