काठमाडौँ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसहितको प्रतिनिधिमण्डलसँगै भिजिट भिसामा स्पेन भ्रमण गएर नफर्किएकाहरूबारे छानबिन गर्न समिति गठन भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।
एसएसपी बोगटीले सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू सम्मिलित ६ सदस्यीय समिति बनाइएको पुष्टि गरे । यो घटनाको अनुसन्धान अब दुवै ब्युरोले संयुक्त रूपमा गर्नेछन् ।
यसअघि सोमबार गृहमन्त्री रमेश लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका थिए । सोही निर्देशनबमोजिम प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल गत असार १४ गते स्पेन भ्रमणमा गई २० गते स्वदेश फर्किएको थियो । उक्त भ्रमण टोलीमा सामेल भएका केही व्यक्तिहरू भिजिट भिसाको दुरुपयोग गर्दै स्पेनमै बसेको आशंकापछि सरकारले छानबिन सुरु गरेको हो । यो घटनाले मानव बेचबिखनको संगठित सञ्जाल सक्रिय हुन सक्ने आशंकालाई बल पुर्याएको छ ।