काठमाडौँ ।
मकवानपुरमा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ। मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा शुक्रबार साँझ परेको चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय मनहरीका अनुसार, राक्सिराङ्ग गाउँपालिका–८, माइसिराङकी ७ वर्षीया छोरी युनिका प्रजाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ। साँझ करिब ६ बजेतिर खाना खान घरको पिँढीमा निस्कँदै गर्दा आमा-छोरीलाई चट्याङले लागेको थियो।
घटनामा अनिकाकी आमा २५ वर्षीया रबिना प्रजा गम्भीर घाइते भएकी छन्। इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख, डीएसपी विशाल सापकोटाका अनुसार रबिनाको देब्रे खुट्टा नचल्ने अवस्थामा रहेकाले थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।
त्यसैगरी, शुक्रबार साँझ नै राक्सिराङ–९, चोराङमा पनि चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन्। उनीहरूको परिचय खुल्न बाँकी रहेको र घटनाबारे थप विवरण संकलन भइरहेको मनहरी प्रहरीले जनाएको छ।