काठमाडौँ ।
किङस कलेजले 'हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता' को उपाधि जितेको छ। शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा किङस कलेजले टेकस्पाइर कलेजलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।
उपाधिसँगै विजेता किङस कलेजले नगद ९० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको टेकस्पाइर कलेजले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन ।
प्रतियोगितामा ग्लोबल कलेजले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा ग्लोबलले एनसिएमटि कलेजलाई १–० ले पराजित गर्यो। तेस्रो स्थान हासिल गर्ने ग्लोबलले २० हजार रुपैयाँ प्राप्त गरे।
यसअघि सेमिफाइनलमा किङस कलेजले एनसिएमटि कलेजलाई ३–० ले तथा टेकस्पाइरले ग्लोबल कलेजलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेका थिए।
हाइसेन्सको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगितामा स्नातक तहका सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीहरूका कुल २८ टिमले सहभागिता जनाएका थिए। सहभागी टिमहरूलाई ८ समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइएको थियो।