काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा कुल ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
बोर्डले शुक्रबार साँझ पत्रकार सम्मेलन आयोजना गरी नतिजा सार्वजनिक गरेको हो। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनाले मात्रै ग्रेड प्राप्त गरेका छन्।
नतिजाअनुसार, ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ। त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९ जना र २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना रहेका छन्। सबैभन्दा कम, १.६ देखि २ जीपीए ल्याउनेको संख्या ८ जना मात्र छ।
यस पटकको परीक्षामा १ लाख ६७ हजार ५९७ जना परीक्षार्थीले 'नन-ग्रेडिङ' (एनजी) प्राप्त गरेका छन्, जसको अर्थ उनीहरूले माथिल्लो कक्षामा भर्ना हुनका लागि ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ। बोर्डले विभिन्न कारणबस १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरेको पनि जनाएको छ।
गत २०८१ साल चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।