काठमाडौँ ।
बर्दियाको बाँसगढी नगरपालिका देशकै पहिलो पूर्ण डिजिटल नगरपालिका घोषणा भएको छ। योसँगै नगरवासीले अब घरमै बसेर अनलाइनमार्फत सबै सरकारी सेवा लिन सक्ने भएका छन्। नगरपालिकाले आफ्ना सेवाहरूलाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग आबद्ध गरी यो ऐतिहासिक कदम चालेको हो।
मंगलबार आयोजित १७ औँ नगरसभामा यो घोषणा गरिएको हो। डिजिटल बाँसगढीको शुभारम्भ गर्दै नगरप्रमुख खडकबहादुर खड्काले अब सेवा लिनकै लागि नगरपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए। उनले भने, "अब देश वा विदेश जहाँ भए पनि बाँसगढीका नागरिकले आफू बसेकै स्थानबाट छिटो, छरितो र सरल तरिकाले सेवा प्राप्त गर्न सक्नुहुनेछ। देशकै पहिलो डिजिटल नगरपालिका बन्नु हाम्रा लागि गौरवको विषय हो।"
गत वैशाख २९ गते बाँसगढी नगरपालिका र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच भएको सहमतिअनुसार नगरपालिकाले प्रदान गर्ने सबै सेवालाई डिजिटल बनाइएको हो। यसका लागि 'डिजिटल बाँसगढी २.०' नामक प्रणाली विकास गरिएको छ, जसले घरबाटै सेवा लिन सम्भव बनाएको छ।
बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीका अनुसार, डिजिटल प्रणालीमार्फत आजैबाट सेवा प्रवाह सुरु भइसकेको छ। यो घोषणाले स्थानीय तहको सेवा प्रवाहमा नयाँ युगको सुरुवात गरेको विश्वास लिइएको छ।