काठमाडौँ।
इरानका आणविक साइटहरूमा हवाई आक्रमण गरेपछि संयुक्त राज्य अमेरिका राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। ह्वाइट हाउसबाट दिएको करिब तीन मिनेटको सङ्क्षिप्त सम्बोधनमा उनले आक्रमणलाई ‘अद्भूत सैन्य सफलता’ को संज्ञा दिँदै इरानलाई कडा चेतावनी दिएका छन्।
राष्ट्रपति ट्रम्पले अमेरिकी आक्रमणबाट इरानका आणविक पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त पारिएको दाबी गरे। ‘अमेरिकाको आक्रमण अद्भूत सैन्य सफलता हो,’ उनले भने, ‘इरानका आणविक पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त पारिएको छ।’
उनले इरानले अब शान्तिको मार्ग रोज्नुपर्नेमा जोड दिँदै त्यसो नगरे भविष्यमा हुने आक्रमणहरू अझ ठूलो र सजिलो हुने चेतावनी दिए। ‘हामीसँग अझ धेरै लक्ष्यहरू बाँकी छन्। यदि चाँडै शान्ति कायम भएन भने ती अन्य लक्ष्यहरूलाई पनि तीव्र, सटीक र दक्षताका साथ आक्रमण गरिनेछ,’ ट्रम्पले थपे।
उनले अवस्था अब यसरी चल्न नसक्ने भन्दै इरानसँग कि शान्ति कि त पछिल्ला आठ दिनमा भन्दा पनि भयावह विपत्तिको विकल्प रहेको बताए।
सम्बोधनका क्रममा ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई धन्यवाद र बधाई दिँदै अमेरिका र इजरायल एउटै टोलीको रूपमा अघि बढेको बताए। ‘अमेरिका र इजरायलले एउटै टोलीका रूपमा काम गरे र इजरायलमाथिको यो भयावह खतरा हटाउने दिशामा धेरै अगाडि बढेका छन्,’ उनले भने।
विदेशमा अमेरिकी सैन्य हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउँदै आएका ट्रम्पको यो कदमलाई उनको पहिलो कार्यकालमा इरानी जनरल कासिम सुलेमानीको हत्या गराएको घटनासँग तुलना गरिएको छ।
ट्रम्पले आफ्नो सम्बोधनको अन्त्यमा अमेरिकी सेनाका संयुक्त प्रमुख जनरल ड्यान केनले आइतबार बिहान पत्रकार सम्मेलन गरी थप जानकारी दिने पनि बताएका छन्।