काठमाडौँ,असार ०३ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै उनको राजीनामा र उच्चस्तरीय छानबिनको मागसहित प्रमुख प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार पनि संसद् विरोध गर्दै आइरहेको छ।
आफ्नो विरोधलाई थप सांकेतिक बनाउँदै रास्वपालेका सांसदहरू आज निलो रङको रिवन लगाएर संसद भवन प्रवेश गरेका छन्। मानव तस्करीविरुद्धको विश्वव्यापी अभियानको प्रतीकका रूपमा रहेको निलो रिवन लगाएर उनीहरूले गृहमन्त्री मुछिएको प्रकरणलाई गम्भीर रूपमा उठाएका हुन्। ‘मानव तस्करी एक गम्भीर अपराध हो र यसको विश्वव्यापी विरोधको प्रतीक निलो रिवन हो,’रास्वपाका एक सांसदले भने, ‘गृहमन्त्रीमाथि लागेको आरोप सामान्य छैन। हामीले यो सांकेतिक विरोधमार्फत सरकार र सदनको ध्यानाकर्षण गराउन खोजेका हौं।’
लामो समयदेखि प्रमुख प्रतिपक्षीले सदनमा अवरोध गर्दै आए पनि सत्तारुढ गठबन्धनले भने सदनको कारबाहीलाई अघि बढाउने प्रयास गरिरहेको छ। रास्वपाले भने गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने अडान कायमै राखेको छ।
यो प्रकरणले सत्तापक्ष र प्रतिपक्षबीचको दूरी झनै बढाएको छ, जसका कारण संसद्का महत्त्वपूर्ण विधेयक र जनसरोकारका विषयहरू ओझेलमा परेका छन्।