काठमाडौँ,जेठ ३१ ।
नेपाल सरकारले मध्यपूर्वमा इरान र इजरायलबीच बढ्दो द्वन्द्व र विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई अधिकतम संयमता अपनाउन र तनावपूर्ण स्थितिलाई थप बढ्न नदिन आग्रह गरेको हो।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हालसालै इरान र इजरायल बीचको विकसित घटनाक्रमप्रति नेपाल गहिरो चिन्तित छ। हामीले परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं।”

विज्ञप्तिमा नेपालले दुवै पक्षलाई तनाव बढ्नबाट जोगिन र क्षेत्रीय शान्ति तथा स्थिरताका लागि मेलमिलापपूर्ण दृष्टिकोण अपनाउन आग्रह गरेको छ। “वार्ताका लागि कूटनीतिक माध्यमहरूको प्रयोगले स्थितिलाई तनावमुक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ,” मन्त्रालयले जोड दिएको छ।
नेपाली नागरिकलाई सतर्क रहन अपिल
मन्त्रालयले दुवै देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति सचेत रहेको जनाएको छ। कतारको दोहास्थित नेपाली दूतावासले इरानमा र तेलअभिभस्थित दूतावासले इजरायलमा रहेका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहेको विज्ञप्तिमा उल्लेख छ।
दुवै देशमा रहेका सबै नेपाली नागरिकहरूलाई परिस्थितिप्रति सतर्क रहन, आवश्यक सावधानी अपनाउन र स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।