बारा ।
जितपुरसिमरा उप-महानगरपालिका –२ स्थित एयरपोर्ट रोडमा स्रोत नखुलेको नगद १३ लाखभन्दा बढी रकमसहित एक युवक पक्राउ परेका छन्।
शुक्रबार दिउँसो करिब ४ बजे विशेष सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका एक युवकलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्ति पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–१६ निवासी विजय महतोका २० वर्षीय छोरा सुरज कुशवाहा हुन्।
प्रहरीका अनुसार कुशवाहा सिमरा चौकबाट एयरपोर्टतर्फ जाँदै गर्दा पिठ्युमा कालो झोला बोकेका थिए। शंकास्पद गतिविधिका कारण उनलाई रोकी झोला तथा शारीरिक खानतलासी गर्दा ठूलो परिमाणमा नगद रकम फेला परेको हो।
प्रहरीले उनको झोलाबाट नेपाली रुपैयाँ १००० दरको नोट १०६७ थान, ५०० दरको नोट ४८० थान र १०० दरको नोट ५ थान फेला पारेको छ। यसरी बरामद गरिएको नगद रकमको कुल मूल्य १३ लाख ७ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।साथै झोलाबाट विभिन्न बिल, भौचर, कागजातहरू तथा ‘सागर मनि ट्रान्सफर बीरगंज’ उल्लेख गरिएको स्टाम्पसमेत फेला परेको छ। प्रारम्भिक अनुसन्धान अनुसार उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।
बाराका प्रहरी प्रमुखले बताए अनुसार कुशवाहाविरुद्ध हुण्डी कारोबारसम्बन्धी शीर्षकमा मुद्दा दर्ता गरिएको छ र थप अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले भनेको छ, “नगद रकमको स्रोत पुष्टि नहुनु, औपचारिक वित्तीय प्रणालीबाहिर रकम ओसारपसार हुनु र मनि ट्रान्सफरका कागजातहरू फेला पर्नुजस्ता आधारमा हुण्डी कारोबारको प्रारम्भिक शंका गरिएको हो।”
हाल सुरज कुशवाहा प्रहरी हिरासतमा छन् र उनको मोबाइल तथा फेला परेका कागजातहरूको समेत विश्लेषण भइरहेको प्रहरी स्रोतले जनाएको छ। नेपालमा हुण्डी कारोबार गैरकानुनी मानिन्छ र यसले औपचारिक बैंकिङ प्रणालीलाई कमजोर बनाउने, राज्यको राजस्वमा असर पार्ने, तथा संगठित आपराधिक कारोबारलाई मलजल गर्ने जोखिम रहने भएकाले यस्ता गतिविधिमाथि प्रहरीले निगरानी बढाएको बताइएको छ।