मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज
पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास
गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।
जिल्ला प्रशासन
कार्यालयद्वारा आइतबार आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवर्धनसम्बन्धी
छलफलमा उनले कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको
सडकलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना सुनाए ।
आर्थिक समद्धिको मूल
आधार पर्यटन क्षेत्र भएकाले कोरलाराजमार्गलाई पर्यटन राजमार्गका रूपमा स्थापित
गरिने भन्दै उनले मुस्ताङ-डोल्पा
सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।
मन्त्री पौडेलले
मुक्तिनाथ क्षेत्रमा लेक लागेर पर्यटक बिरामी हुने समस्या जटिल बन्दै गइरहेकाले
त्यसको समाधानका लागि पर्यटक ‘टाइम कार्ड’ लागू गर्न सरोकार भएका निकायलाई सुझाए ।
यहाँका पर्यटनसम्बन्धी
विभिन्न संघसंस्थाका प्रतिनिधि र व्यवसायीले पर्यटन क्षेत्रका सम्भावना र
चुनौतीबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए ।